लालझाडीमा २०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम सम्पन्न
कञ्चनपुर/जेठ २२
-लाल बहादुर एस.के.
जातीय भेदभाव तथा छुवाछुत मानव सभ्यताको कलङ्क भएको भन्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीले सबैलाई समान अधिकार र सम्मानको प्रत्याभूति दिलाउन समावेशी समाज निर्माणको आह्वान गर्नुभएको छ।
लालझाडी गाउँपालिकाले २०८२ जेठ २२ गते २०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको एक दिने सचेतना कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएका मन्त्री सार्कीले संविधानले सबै नागरिकलाई बराबरी हक सुनिश्चित गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जातीय विभेद मानव सभ्यताको कलङ्क हो। मेरो मन्त्रालय समावेशिता, समानता र सामाजिक न्यायको पक्षमा प्रतिबद्ध छ।”
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष निर्मल रानाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले राख्नुभएको थियो। उहाँले सामाजिक व्यवहारमा परिवर्तनबिना जातीय भेदभाव अन्त्य नहुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अधिवक्ता झंकर कुँवरले “नेपालमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी व्यवस्था र व्यवहारिक कार्यान्वयन” विषयमा प्रशिक्षण दिनुहुँदै कानुनी चेतनाको अभावले समस्या कायमै रहेको उल्लेख गर्नुभयो।
सचेतना कार्यक्रममा स्थानीय दलित अगुवा, विभिन्न संघसंस्था, पत्रकार, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, खेलप्रेमी र सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा लामो समयदेखि दलित समुदायको पक्षमा क्रियाशील मन्त्री सार्कीलाई गाउँपालिकाले दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो।
कार्यक्रम संचालन गाउँपालिकाका कर्मचारीहरूले गरेका थिए।




Comments are closed.