पुनर्वासमा भागेश्वर चिनी मिलले दुर्गन्ध फैलाएको भन्दै स्थानीयद्वारा नगरपालिकामा ज्ञापनपत्र पेश

कञ्चनपुर, ४ चैत ।
पुनर्वास नगरपालिका २ दशरथ बस्तीमा सञ्चालन भईरहेको भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.ले दुर्गन्ध फैलाएको भन्दै स्थानीयले नगरपालिकामा ज्ञापनपत्र पेश गरेका छन । स्थानीय वडानम्बर ७ का युवाहरूले चिनी कारखानाले हानिकारक रसायनयुक्त लेदो पदार्थलाई उचित व्यवस्थापन गरी स्थानीय वातावरण जोगाउनु पर्ने अन्यथा आफुहरु आन्दोलनमा उत्रने समेत ज्ञापनपत्रमा उल्लेख गरेका छन ।

तस्वीर : यादव सि
चिनी मिलले वातावरणीय पक्ष र मानव स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असरलाई बेवास्ता गरि कारखानाबाट निस्कने रसायनयुक्त लेदो पदार्थ सिमरी खोलामा मिसाईदिएपछी पुनर्वासको वडानम्बर २,५,७ र ८ क्षेत्र चिनी मिलबाट निस्कने प्रदुषणका कारण दुर्गन्धित बन्न पुगेका छ्न । विकारयुक्त पानी एक निश्चित एरियामा डम्प नगरी सिधै खोलामा मिसाईदिदा ठूलो क्षेत्रमा प्रदुषण फैलिएको छ । पानीको दुर्गन्धले बस्ती क्षेत्र प्रदुषित भएसंगै जनताको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको स्थानीयको आरोप छ ।
विकारयुक्त पानीको दुर्गन्धका र चिनी मिलबाट उडेर आउने खरानीका कारण केटाकेटी र वृद्धवृद्धालाई स्वासप्रस्वास सम्बन्धि रोगहरु लागीरहेको समाजसेवी समूह वडानम्वर ७ का संयोजक बिरेन्द्र तामाङले बताए ।
पुनर्वास ७ का समाजसेवी केशव एसकेले चिनी मिलले आफ्नो आर्थिक फाईदा मात्र हेर्ने तर जनताको स्वास्थ्यलाई वेवास्ता गरीरहेकाले आफुहरुको माग सम्बोधन नगरे आन्दोलन उत्रने बताए ।
ज्ञापनपत्र बुझ्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले स्थानीय जनताको माग प्रती आफू सकारात्मक रहेको र निकट भविष्यमा मिलका सञ्चालकहरुसंग वार्ता गरि समस्यालाई निकास दिन पहल गरीने बताए ।
Comments are closed.