कञ्चनपुरको दक्षिणी क्षेत्रमा तस्करी बढदै, प्रहरीको भूमिका प्रति सर्वसाधारण असन्तुष्ट

कञ्चनपुर, ५ चैत्र ।
गत चैत १ गते कुखुरा व्यवसायी समिति पुनर्वासको पहलमा मोटरसाइकल सहित करीब १८० केजी कुखुरा समाती इलाका प्रहरी कार्यालय,त्रिभुवन बस्तीको जिम्मा लगाइयो । मोटरसाइकल चालक भागेको हुनाले मोटरसाइकल र कुखुरा मात्र प्रहरीलाई जिम्मा लगाईयो । प्रहरीले अनुसन्धान गरि सम्बन्धित तस्करलाई समातेर कार्वाही गर्नुको सट्टा तस्कर आफै प्रहरी कार्यालयमा गएर मोटरसाइकल लिएर फर्किए । प्रहरीको यस कार्यको विरोध भयो ।
यस बारेमा प्रश्न गर्दा कुखुरा नष्ट गरिएको र प्रहरीले सामान्य कागज गरि मोटरसाइकल छाडिदिएको ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए । अन्य मुद्दामा आफू व्यस्त रहेकोले परिस्थितिको गम्भीरता र यसबाट आउनसक्ने समस्यालाई विचार गर्न नसकेको र आफुबाट गल्ती भएको तथा आउँदा दिनमा यस्तो कार्य नदोहोरिने निरीक्षक बिष्टले प्रतिबद्धता गरे ।
तर प्रहरी निरीक्षक बिष्टको प्रतिबद्धता आएपनी पुनर्वासको भारतीय सिमावर्ती क्षेत्रबाट तस्करीको सिलसिला रोकिएको छैन। जब रात पर्छ सिमामा चहलपहल देखिन्छ । हरेक रात लाखौंका अवैध सामानहरु रहँदा सुरक्षाकर्मीहरु मौनता साधेर मुकदर्शक बनिदिन्छ्न ।
पीडित व्यापारीको पीडा कसले बुझ्ने ?
पुनर्वासको सबैभन्दा ठूलो बजार आईबिआरडी बजारका व्यापारीहरुले सिमाबाट भित्रने अवैध सामान रोक्न थुप्रै पटक उद्योग वाणिज्य संघमा ज्ञापनपत्र बुझाईसके, सांकेतिक बन्द गरीसके, सिमामा गएर गस्ती गरे तर अवैध सामान भारतबाट आउने क्रम रोकिएन । बिना भन्सार भित्रने अवैध सामानहरुका कारण आफ्नो व्यवसाय धरापमा परेको व्यवसायी हरुको भनाई छ । भन्सार तिरेर वैध सामानहरु बेच्ने, सरकारलाई कर तिर्ने व्यापारीहरुले अवैध सामान बेच्ने व्यापारीहरुको अगाडी टिक्न गाह्रो परिरहेको अवस्था छ । अवैध सामान भारतबाट ल्याई व्यापारीहरुको पसल पसलमा पुर्याउने समूह अहिले पुनर्वास-बेलौरी क्षेत्रमा सक्रिय छ । जसलाई “क्यारिङ वाला” भन्ने गरीन्छ । आजभोलि अवैध सामान ल्याउन यहि “क्यारिङ वाला” समूहको सहयोग लिने गरेको व्यापारीहरु नै बताउँछन् । “क्यारिङ वाला”हरु कहिले पनि समातिदैनन । समातिए पनि एकैछिनमा छुटिहाल्छ्न । प्रहरी र “क्यारीङ वाला”को सेटिङ रहेको सर्वसाधारणको गुनासो छ ।
किसानको मर्का उस्तै
पुनर्वास-बेलौरी क्षेत्रका कुखुरापालक कृषकहरु लकडाउनको समयमा आफ्नो उत्पादनले राम्रो बजार र उपयुक्त मूल्य पाएका कारण हौसिएका थिए । लकडाउनका कारण भारतबाट अवैध कुखुरा नआउनाले व्यवसाय फस्टाएर खुशी भएका किसानहरूको खुशी धेरै समय टिक्न सकेन । लकडाउन खुल्ने बित्तिकै भारतबाट अवैध रुपमा सस्तो ब्रोईलर कुखुरा भित्रीन थालेपछि पुनर्वासका कुखुरा पालक किसानको खुशी धेरै टिकेन । अहिले कुखुरा व्यवसायी समिति बनाएर भारतबाट आउने कुखुरा रोक्ने अभियानमा जुटिरहेका छ्न ।
तर सुरक्षा निकायले यसबारेमा प्रभावकारी पहल गर्न नसकेको उनीहरुको गुनासो छ ।
यता पुनर्वास-बेलौरीमा सञ्चालन भईरहेका सयौ मासु पसलहरुमा भारतीय अवैध कुखुरा नै काटिने गरेको स्वयं व्यापारीहरु नै बताउँछन् । नेपाली कुखुरा महँगो पर्ने र समयमा नपाईने समस्याले गर्दा भारतीय कुखुराको मासु बेचिरहेको उनीहरूको भनाई छ । तर भारतीय कुखुराको मासु बेच्दा “क्यारीङ वाला”लाई पैसा तिर्नुपर्दा र प्रहरीलाई हप्ता बुझाउनु पर्दा आफुहरु पनि मर्कामा परेको उनीहरूको गुनासो छ ।
यताको सामान सहजै उता, प्रहरीको भनाइ तस्करीका लागी “शुन्य सहनशीलता”
बेलौरी २ थापा चौराहबाट दैनिक लाखौंको अवैध सामान नेपाल भित्रीरहेको र नेपालबाट दैनिक डिजेल लगायतका बस्तुहरु भारत लगीरहेको भन्ने जनगुनासो आईरहदा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलौरी २ थापा चौराहका इञ्चार्ज कृष्ण अधिकारीले आफुहरुले कडा ड्युटी गरीरहेको बताए । नेपाल सरकारलाई लाखौं राजस्व उठाउन आफ्नो टिम सफल रहेको र आफुहरुको कुनै तस्करसंग “सेटिङ” नरहेको बताए । त्यसैगरी सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट आनन्द बजारका ईञ्चार्ज निम बहादुर भण्डारीले आँखा छलेर लाने र घरायसी प्रयोजनका सामाग्री बाहेक आफुहरुले देखेभेटेसम्म समातेर कार्वाही गरीरहेको बताए । आफुहरुले कुनै तस्करसंग पैसा लिएर गलत कामलाई नसघाएको ईञ्चार्ज भण्डारीको भनाई छ ।
तस्करीहरुका विरुद्ध आफुहरुको शुन्य सहनशीलता रहेको ईञ्चार्ज भण्डारी बताउँछन् ।
जनता अचम्मित
सिमामा सशस्त्र प्रहरीको कडा गस्ती र अन्य ठाउँमा जनपद प्रहरीको गस्तीले ड्युटी गरीरहेको भएतापनी पुनर्वास-बेलौरी क्षेत्रमा भारतबाट अवैध सामानहरु विना अवरोध भित्रीरहदा सर्वसाधारण अचम्ममा परेका छ्न । कुखुरा व्यवसायी किसान भारतीय कुखुरा रोक्न लागीपरेको छ, व्यापारी आन्दोलित छ्न । तर दैनिक करोडौंको अवैध सामान भित्रीरहेको छ । यसको भित्री रहस्य के छ त ? तर स्थानीय वासीहरु सहजै भनिदिन्छ्न,”प्रहरी र तस्कर मिलेपछि कसको के लाग्छ र? “
Comments are closed.