कञ्चनपुरको भीमदत्त नगरलाई स्मार्ट सिटि बनाउन एक अर्ब बजेट छुट्याइयो, बेलौरी ओझेलमा

कञ्चनपुर । सरकारले भीमदत्त नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रक्रिया अघि बढाएको छ । सरकारले देशभर भीमदत्त सहित १२ ओटा स्मार्ट सिटी बनाउन चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी प्रक्रिया अघि बढाएको हो ।
मन्त्रीपरिषद् बैठकले चैत २५ गते बजेट सुनिश्चितासहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले तत्काल वातावरण मूल्यांकन सहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । कञ्चनपुरको बेलौरी बजारलाई समेत स्मार्ट सिटी बनाउने भन्दै योजनामा राखेको थियो तर बेलौरीका लागि बजेट विनियोजन हुन नसक्दा ओझेलमा परेको हो । स्मार्ट सिटि अवधारणा अन्तर्गत पुनर्वासलाई भने समेटिएको थिएन ।
सुदूरपश्चिममा भीमदत्त र अमरगढी नगरपालिका स्मार्ट सिटी बनाउन लागिएको हो । यस बाहेक झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको छ ।
दाङको तुलसीपुर र दैलेखको दुल्लुलाई पनि स्मार्ट सिटी बनाउने निर्णय गरिएको छ ।
वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले जनाए । ‘अब वातावरणीय अध्ययनसहित प्रक्रिया अघि बढाउछौं,’ ती अधिकारीले भने, ‘केही दिनमै त्यसको काम थाल्छौं ।’
प्रत्येक सहर विकासका लागि बजेट सुनिश्चिततासहितको निर्णय भएको उनको भनाइ छ । ‘प्रत्येक सहरका विकासका लागि १÷१ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सहरीकरणसँग स्मार्ट सहर निर्माण गर्नै पर्छ ।’
तर यसअघिको सरकारले २०७४ असार २८ मा गरेका निर्णयमा विशेष महत्त्वसाथ स्मार्ट सिटी बनाउने केही सहरलाई यस पटकको निर्णयमा हटाएको छ । त्यसको साटो प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापाको गौरीगन्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सहरी विकासमन्त्री प्रभु साहको गृह जिल्ला रौतहटको मौलापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने भएको छ । यससँगै मन्त्री साहको जिल्लामा दुई वटा स्मार्ट सिटी बन्नेछन् । पूर्वमन्त्री एवं सांसद महेश बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुर नगरपालिकाको गुन्डु–बालकोट क्षेत्रलाई तत्काल स्मार्ट सिटीका रूपमा विकास गर्ने निर्णय पनि भएको छ ।
Comments are closed.