web analytics

देश फेरि लकडाउनतिर जाँदै, ३१ जिल्लामा निषेधाज्ञा लागु

काठमाडाैँ । कोभिड-१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै ३१ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा गए राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल ३१ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ ।

प्राप्त विवरणअनुसार आज गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गुल्मीमा गए राति १२, बाजुरामा बिहान ५ र उदयपुरमा आइतबार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ भने प्यूठानमा शनिबार बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ ।
घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा-पनौती-खोपासी सडकको ५०० मिटर दायाँबायाँ, विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ-भकुण्डे हुँदै मङ्गलदार सम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको छ । उक्त आदेश आइतबार राति १२ बजेदेखि कार्यान्वयन हुने जनाइएको छ ।
यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका-७ र ८ मा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ ।
यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा गए राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।
सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.