web analytics

नयाँ सरकार गठनको समय सकिन केही घण्टा बाँकि, दलहरु छलफलमै व्यस्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय घर्किँदै गएको छ।
सरकारको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि २१ घण्टा अर्थात आज बेलुकी पाँच बजेसम्मको समय दिनुभएको छ ।
राष्ट्रपतिले दिएको समय सकिन ६ घण्टा बाँकी रहँदा कुनै पनि दलले स्पष्ट निर्णय गरिसकेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा समूहले ओलीको विरुद्धमा बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर्नुपर्ने बताए पनि बहुमत जुटाउन सकेका छैनन् ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ भने माओवादी आन्तरिक छलफलमा छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई साथ दिने सङ्केत दिँदै संसदीय दलको बैठक डाकेको छ । तर जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले भने ओलीलाई साथ दिन नहुने बरु आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् ।
दलहरुले अहिलेसम्म निर्णय गरिनसकेकाले राष्ट्रपतिले दिएको समयसम्म कसैले पनि नयाँ सरकारको दाबी नगर्ने सम्भावना बढ्दै गएको छ । राष्ट्रपतिले तोकेको समयसम्म पनि कसैले बहुमतको सरकारको दाबी गर्न नसकेमा प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावको मिति घोषणा हुने सम्भावना धेरै छ ।
संविधानको धारा ७६ को उपधारा (३)अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री भएको व्यक्तिले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । यदि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने प्रस्ट संवैधानिक व्यवस्था छ ।
यो व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले जेठ मसान्तसम्म विश्वासको मत नपाए यो विकल्प खुला हुने हो । तर अविश्वासको मत नलिइकनै र राजीनामा पनि नदिइकनै नयाँ सरकार गठनको आह्वान भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.