web analytics

युरोकपमा आज इङल्याण्ड र जर्मनीबीच खेल हुँदै

काठमाडौँ । युरोकपको नकआउट चरण अन्तर्गत आज इङल्याण्ड र जर्मनीबीच खेल हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजे हुदै छ ।
समुह डी मा रहेको इङल्याण्ड समुहमा २ जित र एक बराबरी खेल्दै ७ अंक हासिल गर्दै नकआउट चरणमा पुगेको हो । इङल्याण्डले पहिलो खेलमा क्रोसियालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यस्तै तेस्रो खेलमा चेक रिपब्लिकमाथि १-० को जित हासिल गरेको थियो ।
त्यस्तै जर्मनी भने यस युरोकपको ग्रुप अफ डेथ भनिएको समुह एफबाट ३ खेलमा एक जित एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै दोस्रो भएर नकआउट चरणमा पुगेको हो ।
जर्मनी पहिलो खेलमा फ्रान्ससँग आफैले आत्मघाती गोल गर्दै १-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा पोर्चुगलमाथि ४-२ को शानदार जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा हंगेरीसँग भने २-२ गोलको बराबरीमा रोकिएको थियो ।
इङल्याण्ड र जर्मनी २०१७ को नोभेम्बरमा खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि पहिलो पटक एक आपसमा भिड्दैछन् । सो खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टिम बीच अहिलेसम्म ३२ खेल भएका छन् । जसमा इङल्याण्ड १३ पटक विजयी भएको छ भने जर्मनीले १५ खेल जितेको छ । त्यस्तै ४ खेल भने बराबरीमा सकिएका छन् ।
युरोकपमा भने इङल्याण्ड र जर्मनीको यो तेस्रो पटक भेट हुदै छ । यस अघि सन १९९६ को युरोकपको सेमिफाइनलमा निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि पेनाल्टीमा जर्मनीले ६-५ ले जितेको थियो । त्यसपछि सन २००० को युरोकपमा समुह चरणमा इङल्याण्डले १-० को जित हासिल गरेको थियो ।
त्यस्तै इङल्याण्डको युरोकप नकआउट चरणमा रोचक इतिहास रहेको छ । अहिलेसम्मका युरोकपमा इङल्याण्डले अहिलेसम्म ९० मिनेटका खेलमा जित हासिल गर्न सकेको छैन । अहिलेसम्म २ पटक हार बेहोरेको छ भने ४ पटक ९० मिनेट भित्र बराबरी खेलेको छ ।
समुह चरणमा अपराजित रहेपनि इङल्याण्डको खेल र नतिजा चाहे जस्तो भने देखिएको छैन । सधै चर्चाको शिखरमा रहने र कुनै ठुला प्रतियोगिता नजित्ने टिमको रुपमा इङल्याण्डको फुटबल टिमलाई हेरिन्छ । तर यस पटक युवा खेलाडीको आत्मविश्वासले इङल्याण्डलाई सफल बनाउन सक्न्ने आधारहरु देखिन्छ । युवा मिडफिल्डर फिल फोडेन, मासन माउन्ट तथा ह्यारी केन, रहिम स्टरलिङ जस्ता खेलाडीले इङल्याण्डलाई बलियो टिमको रुपमा नतिजा दिनुपर्ने दबाबमा रहेको देखिन्छ ।
त्यस्तै जर्मनीमा यस युरोकपमा युवा खेलाडी काइ हाभेर्टको प्रदर्शनले निकै प्रभावित पारेका छन् । उनले दुई गोल पनि गरेका छन् । त्यस्तै प्लेमेकर टोनी क्रुज र आक्रमणमा ग्नेब्रीको भूमिकाले जर्मनी इङल्याण्डमाथि हावी हुने सम्भावना देखिन्छ ।
इङल्याण्ड र जर्मनीबीचको विजेताले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्ने छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.