एमालेको ‘साइबर सेना’जस्तै संगठन काङ्ग्रेसले बनायो

काठमाडौं/एमालेको ‘साइबर सेना’जस्तै संगठन नेपाली काङ्ग्रेसले बनाउने भएको छ ।
संगठनको नाम नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क(एनसी विन) राखिने छ। पार्टीका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार विभागका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले उक्त संगठन निर्माण गरेको विभागका सचिव दिनेश थापामगरले जनाए।
विभागका सदस्यसमेत हरेका दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसि विन गठन गरिएको विज्ञप्तिमार्फत थापाले जनाएका छन्। ‘विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक संजाल उपसमितिका संयोजक ई. दिपेश विष्टको संयोजकत्वमा एनसि विन को २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ,’ सचिव थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।य
उक्त संगठनले यसअघि सत्तामा रहेको नेकपा एमालेले गठन गरेको साइबर सेनाले जस्तै काम गर्ने उल्लेख गरिएको छ। अल्पकालिन कामको विषयमा भनिएको छ, ‘स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने।’ यसैगरी यस संगठनको तत्कालिन काम भने पार्टीको महाधिवेशन प्रचार गर्नु रहेको बताइएको छ।
बैठकले नेपाली कांग्रेसको १४ महाधिवेशनको प्रचारात्मक नारासमेत तय गरेको छ। “कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔं १४ औं महाधिवेशन” नारा तय भएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको “चिन्तन चौधौं महाधिवेशन” कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। जसअन्तर्गत सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी बिषयमा ‘प्यानल डिस्कसन’ गरिने उल्लेख गरिएको छ।
‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको विभागले जनायो।
Comments are closed.