माधव नेपालको जवाफ : राष्ट्रहितका विरुद्धमा आएको एमसीसी अनुदान स्वीकार्दैनौँ
काठमाडौ/ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार सहितको प्रतिनिधि मण्डललाई राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढाउन नसकिने जवाफ दिएका छन् ।
सिंहदरबारमा भएको भेटमा अध्यक्ष नेपालले एमसीसीका सन्दर्भमा अहिले देखिएको भ्रमका बारेमा स्पष्ट पार्नुपर्ने र निहित स्वार्थमा आएको सहयोग स्वीकार्न नसकिने बताएको भेटमा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले बताए ।
छलफलमा एमसीसीकी पूर्वाधार परियोजना उपाध्यक्ष सुमारले एमसीसीका बारेमा देखिएको भ्रमबारे स्पष्ट पार्न आएको र एमसीसी विशुद्ध अनुदान भएकोले कुनै अप्ठ्यारो नमानी स्वीकार्दा हुने बताएको नेता तुलाधरले जानकारी दिए ।
तर, अध्यक्ष नेपालले भने एमसीसीकै मान्छेहरुले उक्त सम्झौतामा बारेमा भ्रम सिर्जना गरेको बताएका थिए ।
‘एमसीसीकै मान्छेहरु यसलाई इन्डो प्यासेफिक रणनीतिको अंश हो भनिरहेका छन् । तपाइहरुकै मान्छेले कन्फयुजन सिर्जना गरेका छन् । राष्ट्रहितका विरुद्धमा आउने कुनै पनि अनुदान हामीलाई स्वीकार्य छैन’ नेपालको भनाई उदृत गर्दै तुलाधरले जानकारी दिए ।
सुमारले भने एमसीसी सैन्य रणनीतिको अंश नभएको स्पष्ट पार्ने प्रयास गरेकी थिइन् । उनले थप अध्ययन गर्न चाहे अमेरिकी सरकारको डकुमेन्ट लिएर आएको र त्यसलाई अध्ययन गर्दा हुने बताएकी थिइन् ।
आफूहरु एमसीसी अनुमोदनका लागि दबाब दिन नभइ अस्पष्ट भएका कुराहरुलाई स्पष्ट पार्नको लागि मात्रै आएको र उपयुक्त नलाग्दा एमसीसी अस्वीकार गर्दा पनि फरक नपर्ने बताएको तुलाधरले जानकारी दिए ।



Comments are closed.