प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलि विच छलफल, के एमसीसी पारीत होला ?
काठमाडौ/प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको हो ।
अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको अवस्थामा त्यसलाई पास गराउन प्रधानमन्त्री देउवाले ओलीको साथ खोज्नुभएको छ । माओवादी र एकीकृत समाजवादीले एमसीसी पास भएमा सत्ता छाड्नेसम्मको धम्की दिन थालेपछि देउवा एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफलमा हुनुहुन्छ ।
प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा जुट्नुभएको छ । सत्ता साझेदार दलसँगै विपक्षी एमालेसँगको छलफललाई उहाँले निरन्तरता दिनुभएको छ ।
एमसीसीको पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको विश्वास छ । तर यसबारे एमालेले औपचारिक धारणा सार्वजनिक गरेको छैन । सभामुखले १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । एमसीसी टेबल भइसकेपछि सभामुख सापकोटाले छलफलको दिन तोक्नुपर्नेमा दिन तोकिएको छैन ।



Comments are closed.