रहेनन लोकगायक तथा हाँस्य कलाकार जयनन्द लामा
काठमाडौ/ लोकगायक तथा हाँस्य कलाकार जयनन्द लामा हामी बिच रहनुभएन । उनको बुधवार बिहान आफ्नै घर अगाडि निधन भएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए ।
बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।
बा ३ च ७७४१ नंको कार लामा आफैंले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ ।
शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उहाँको परिवारलाई जानकारी गराएका थिए ।
प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज लगेको छ ।
शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलिका लागि राखेर दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
यसैबीच, बिहानैदेखि उनको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।
लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए ।
‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आउनु भएको थियो । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएका उहाँले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनुभएको थियो ।
उनी विभिन्न विद्यालयमा सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए ।



Comments are closed.