web analytics

पुनर्वास उद्याेग वाणिज्य संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर, २४ चैत ।
पुनर्वास उद्याेग वाणिज्य संघको पाँचौ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभापतित्व, नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्य रहेको सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संस्थाका पूर्व अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य कृष्ण बहादुर तामाङ,संस्थाका संस्थापक अध्यक्ष विश्वनाथ विष्ट,बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट हुनुहुन्थ्यो । त्यसैगरी अतिथिका रुपमा विभिन्न राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरु तथा उद्योगी तथा व्यापारीको उपस्थिति थियोे । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै समाजसेवी तथा ज्योति पुस्तकालयका अध्यक्ष
रामचन्द्र नेपालले हरेक क्षेत्रमा समस्या भएको र समस्यालाई परास्त गर्न रणनीति बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले खुल्ला बोर्डर समस्या नभै हाम्रो मानसिकता नै समस्या रहेको जिकिर गर्नुभयो ।
समाजसेवी पदम बहादुर थापाले नेपालमा दोष दिएर आफू चोखो बन्ने प्रवृति रहेको र अरुलाई दोष दिनुभन्दा आफै सुध्रेर अगाडि बढनुपर्ने भनाई राख्नुभयो ।
प्रहरी निरीक्षक हेमराज भट्टले नेपाल प्रहरीले विभिन्न निकायसँग समन्वय गरी सिमाबाट हुनसक्ने अपराधलाई न्यूनीकरण गर्न आफूहरू अहोरात्र लागीरहेको बताउनुभयो ।उहाँले सशस्त्र प्रहरीसंग समन्वय गरि आफूहरूले अवैध सामानहरु जफत गर्ने कार्यहरू निरन्तर सक्रिय रुपमा गरीरहे पनि एक्लो प्रहरीको प्रयासले मात्र अपराध निराकरण गर्न सम्भव नभएको र सम्पूर्ण समाजको सहयोग चाहिने भनाई राख्नुभयो । उहाँले
सिमापारी गएर सेवन गरेर आउने समस्या रहेकाले प्रहरीलाई लापासे कीट उपलब्ध गराईदिन पुनर्वास नगरपालिकालाई अनुरोध गर्नुभयो ।
पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामाले आर्थिक मन्दीका कारण व्यवसायीहरु निकै पिडामा रहेकाले व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई राहत दिने कार्यक्रम ल्याउनुपर्ने तथा पुनर्वास लागू पदार्थको हब बनिरहेकाले यसको लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने विचार राख्नुभयो ।
नेकपा माओवादी केन्द्रका प्रतिनिधि कञ्चन गीरीले खुला सिमा चुनौतीको रुपमा रहेको र हरेक क्षेत्र खुला सिमानाका कारण प्रभावित रहेकोले खुला सिमाको विरुद्ध एक दसक आन्दोलन गर्नुपर्ने भनाई राख्नुभयो ।
नेपाली काङ्ग्रेस प्रतिनिधि मानबहादुर रोकायाले अखाद्य सामाग्री भित्रीन नदिन हामी आफैले प्रयोग नगर्ने प्रतिबद्धता गर्नुपर्ने बताउँदै जबसम्म हामी प्रयोग गरीरहन्छौ तवसम्म यो समस्या समस्या समाधान नहुने धारणा राख्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष विश्वनाथ बिस्टले व्यवसायमा धेरै समस्या रहेको र सबैको सामुहिक प्रयासबाट मात्र समाधान हुने भनाइ राख्नुभयो ।
बलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बिओपी र इलाका प्रहरी कार्यालयको संख्या बढिरहदा पनि सिमापारीबाट अखाद्य पेय पदार्थ भित्रीरहनु निकै विडम्बनापूर्ण कुरा भएको बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य कृष्ण बहादुर तामाङले ईटा व्यवसाय नेपालभरी धरासायी भैरहेको र व्यवसायीले लिएको रिणको ब्याज बैकले मनपरि बढाउँदा राज्यले रोक्नेतर्फ कुनै पहल नगर्नु निकै खेदजनक रहेको बताउनुभयो ।
नगरप्रमुख तोय प्रसाद शर्माले
आर्थिक मन्दीका कारण धेरै समस्या आएकोले उद्योग वाणिज्य संघले व्यापारीहरुकालाई मार्गदर्शन दिन कार्यक्रम गर्नुपर्ने बताउनुभयो । सिमाबाट आउने कुखुरा र डिउ प्रतिबन्ध लगाउनुपरयो भन्ने व्यापारीहरुले नै सिमाबाट प्रतिबन्धित सामान ल्याउने गरेको र सामान बरामद हुँदा प्रहरीबाट सामान छुटाईदिन आफुलाई तिनै व्यापारीले अनुरोध गर्ने गरेको तथा सामान नछुटाईदिए मेयरले कामै गरेन भन्ने आरोप लगाउने गरेको बताउनुभयो ।
सभापति तथा अध्यक्ष राजकुमार रायमाझीले व्यवसायी पीडित र हतास अवस्थामा भएका कारण कार्यक्रममा उपस्थिति जनाउन नसकेको बताउनुभयो । उद्योग वाणिज्य संघ व्यवसायीहरुको हक हितमा निरन्तर लागीरहेको समेत उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रमलाई संस्थाका सचिव बालकृष्ण ढकालले सञ्चालन गर्नुभएको थियोे ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.