web analytics

जनकल्याण माविमा भव्य रूपमा सरस्वती पूजा सम्पन्न

लाल बहादुर एस के,

पुनर्वास, माघ २१

पुनर्वास नगरपालिका-३, आईबीआरडी बजारस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा माघ २१ गते सरस्वती पूजाको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको छ। विद्यालय परिवार, विद्यार्थी, शिक्षक-शिक्षिका, अभिभावक तथा स्थानीय समुदायको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा विद्याकी देवी सरस्वतीको पूजाआजा गर्दै आशीर्वाद प्राप्त गर्ने परम्परागत धार्मिक विधि सम्पन्न गरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य तथा संसदीय दलका सदस्य तारालामा तामाङले विद्यालयमा विशेष पूजाआजा गर्दै प्रसाद ग्रहण गरेका थिए। कार्यक्रममा उनले धार्मिक तथा सांस्कृतिक गतिविधिले विद्यार्थीलाई अनुशासन, सभ्यता र सर्वधर्म समभावको मान्यता प्रदान गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक सुनिल कुमार लोले शिक्षाको महत्त्व र धार्मिक-सांस्कृतिक कार्यक्रमहरूको प्रभावबारे प्रकाश पार्दै भने, “यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नैतिकता, अनुशासन र संस्कारको विकास गर्नुका साथै समुदायलाई एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेल्छन्।” उनले सबै धर्म तथा आस्थाप्रति सम्मान राख्दै यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

विद्यालयका प्रधानाध्यापक विनोद केसीले उपस्थित विद्यार्थीहरूलाई टीका तथा प्रसाद वितरण गर्दै सरस्वती माताको कृपाले उनीहरूको शैक्षिक प्रगति तथा उज्ज्वल भविष्यको कामना गरे। विद्यालयका शिक्षक-शिक्षिकाहरूले समेत यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नैतिक शिक्षा, सांस्कृतिक चेतना तथा समाजप्रति जिम्मेवारीबोध गराउने विश्वास व्यक्त गरे।

विद्यालय प्रशासनका अनुसार भविष्यमा पनि शिक्षासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइनेछ। सहायक प्रधानाध्यापक लोले भने, “सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाजस्ता कार्यक्रमले विद्यार्थीलाई ज्ञानप्रति जागरूक बनाउनुका साथै परम्परागत मूल्य र संस्कारको जगेर्ना गर्न मद्दत गर्छ।”

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको भन्दै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। जनकल्याण माविका लेखापाल देवराज गिरीले सरस्वती पूजाको कार्यक्रमलाई सभ्य र भव्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै विद्यालयको विभिन्न व्यवस्थामा सहज वातावरण तयार गर्न उल्लेखनीय योगदान दिएका थिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.