विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा
काठमाडौं, १९ वैशाख ।
सरकारले विद्यालय शिक्षा विधेयक यही बर्षे अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय शिक्षा प्रणालीमा कानुनी र नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सो विधेयक यसै अधिवेशनबाट पारित गरिने स्पष्ट पारेका हुन्।
राष्ट्रपतिले भने, “शिक्षा सुधारको कानुनी नीतिगत सुधार गरिनेछ। विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ।”
उक्त घोषणा हालै सम्पन्न २९ दिन लामो शिक्षक आन्दोलनपछिको सरकारले दिएको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ। गत चैत २० गतेदेखि बैशाख १७ गतेसम्म आन्दोलनमा उत्रिएका थिए। आन्दोलनको क्रममा देशभरका विद्यालयहरू प्रभावित भएका थिए भने भर्ना, परिक्षा लगायतका सम्पूर्ण शैक्षिक गतिविधि अवरुद्ध भएको थियो।
आन्दोलनकै क्रममा सरकार र शिक्षक प्रतिनिधिबीच भएको वार्ताले केही सहमति जुटाएको थियो तर विधेयक पास नगरेसम्म स्थायी समाधान नहुने धारणा शिक्षक संघ संगठनहरूको रहँदै आएको छ।
सरकारको तर्फबाट विधेयकलाई यसै अधिवेशनबाट पारित गर्ने प्रतिबद्धताले अब शिक्षामा स्थायीत्व ल्याउने आशा गरिएको छ। यद्यपि, विधेयकको अन्तिम रूप शिक्षक समुदायको अपेक्षा अनुसार आउने कि नआउने भन्ने प्रश्न भने अझै बाँकी छ।




Comments are closed.