बुद्ध जयन्तिमा सुदूरपश्चिममा माछा-मासु बिक्री वितरण नगर्न तामाङ घेदुङको अनुरोध

धनगढी/बैशाख २८
आगामी बैशाख २९ गते मनाइने २५६९औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ – सुदूरपश्चिम प्रदेश कार्यसमितिले सुदूरपश्चिम प्रदेशभरि माछा-मासुजन्य वस्तुको विक्रीवितरण नगर्न हार्दिक अनुरोध गरेको छ।
तामाङ घेदुङले एक प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध जयन्ति जस्तो पवित्र अवसरमा शान्ति, करुणा र अहिंसाको अभ्यास गर्नु आवश्यक रहेको जनाउँदै उक्त दिन कुनै पनि पशुपंक्षीको हत्या नगर्न र मासुजन्य कारोबार नगर्न व्यवसायी, व्यापारी, संघसंस्था तथा आम नागरिकलाई आग्रह गरेको हो।
प्रेस विज्ञप्तिमा भनिएको छ, “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो। ‘लोभ र स्वार्थ दुःखको मूल कारण हो’ भन्ने बुद्धका सन्देशलाई आत्मसात् गर्दै समाजमा सद्भाव कायम गर्न हामी सबैले प्रयास गर्नुपर्छ।”
यसै सन्दर्भमा घेदुङले नेपाल सरकारसँग पनि उक्त दिनको लागि मारकाटमा रोक लगाउने र मासुजन्य वस्तुको विक्री वितरणमा प्रतिबन्ध लगाउने सम्बन्धमा नीति तथा निर्देशन जारी गर्न माग गरेको छ।
संगठनका कार्यवाहक अध्यक्ष भीमलाल मोक्तानले सबैलाई संयमित भएर बुद्धको शिक्षालाई आत्मसात् गर्दै अहिंसात्मक समाज निर्माणमा योगदान पुर्याउन आह्वान गरेका छन्।
Comments are closed.