web analytics

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण हुने

कञ्चनपुर,६ चैत ।

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण हुने भएको छ ।लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बिच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता भएको छ । प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित क्षतिको मात्रालाई कम गर्न समुदायस्तरमा बायो इञ्जिनीयरिङ (जैविक तटबन्ध) मार्फत विपद् जोखिम न्यूनीकरण क्रियाकलाप सञ्चालन गर्नका लागि सम्झौता गरिएको हो ।

वडा नम्बर १ विनवारी, वडा नम्बर २ कञ्ज, वडा नम्बर ३ नन्दगाउँ र वडा नम्बर ४ खल्ला जाइँको दोदा नदीमा एक हजार ८०० मिटर लम्बाइको जैविक तटबन्ध निर्माणका लागि रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनासँग लागत सहभागितामा सहकार्य गर्ने सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए ।

जैविक तटबन्ध निर्माणका लागि गाउँपालिकाले २० लाख र परियोजनाका तर्फबाट १० लाख रकम व्यहोर्ने सम्झौता भएको उनले बताए । विगतमा रेडक्रससँग सहकार्य गरी दोदालगायतका नदीमा निर्माण गरिएका तटबन्ध प्रभावकारी देखिएपछि गाउँपालिकाले सहकार्य गरेको उनले जानकारी दिए ।

ढुङगा र तारजालीका तटबन्ध निर्माण गर्दा धेरै खर्चिलो हुनाका साथै बढी श्रम लाग्ने भएकाले यसको तुलनामा जैविक तटबन्धमा थोरै रकमले धेरै काम गर्न सकिने र भरपर्दोसमेत हुने भएकाले यसलाई अगाडि बढाइएको उनले बताए ।

“विगतमा नदीको बाढीले भूक्षय गर्दै आएको जग्गा हाल जैविक तटबन्धका कारण जोगिएको छ”, उनले भने, “स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै जैविक तटबन्ध निर्माणलाई निरन्तरता दिइँदै आएको छ, गाउँपालिकाका अधिकांश वासिन्दा दोदा नदीका कारण विगतमा विस्थापनमा परेका थिए, जैविक तटबन्ध निर्माण हुन थालेपछि विस्थापनको क्रमसमेत रोकिएको छ ।”

रेडक्रसले जैविक तटबन्ध निर्माणका लागि विपद् जोखिम न्यूनीकरणसँगै आर्थिक विकास गरी जीविकोपार्जनमा सहज गर्नका लागि समुदायमा सहभागितामूलक विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा गर्ने कामसमेत गर्दै आएको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताए उनका अनुसार गाउँपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जुमा गरेको छ ।

एमरेड परियोजना सन् २०२० देखि २०२२ सम्म जिल्लाका कृष्णपुर, शुक्लाफाँटा, बेलौरी र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा गरी ३२ बढी समुदायमा सञ्चालन भइरहेको छ ।

 

 

Facebook Comments
Below Article Content Ads

Comments are closed.