पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु
कञ्चनपुर, १३ जेठ ।
पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ । खुला सिमाना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसारलाई न्यूनीकरण गर्ने उद्देश्य राखी सो दुई दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
पुनर्वास नगरपालिका ६ को आयोजनामा हुन लागेको सो कार्यक्रम आज र भोलि दुई दिन सम्म पुनर्वास ६ को सभाहलमा चल्नेछ ।
कार्यक्रमको उदघाटन सत्रमा पुनर्वास नगरपालिका ६ का वडाध्यक्ष मित्रसिंह लामाको अध्यक्षता, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आथित्यता रहेको थियोे । त्यसैगरी अतिथिको आसनमा उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी लगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, प्रशिक्षक, महिला स्वयंसेविका, शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रमलाई ब्यानर वाचन गरेर नगरप्रमुख तोय प्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
स्वागत मन्तव्य राख्दै उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले पुनर्वासका अधिकांस वडाहरु भारतीय सिमासंग जोडिएको र मानव तस्करहरुले खुला सिमाको फाईदा उठाएर मानव बेचविखन तथा ओसारपसार गर्ने गरेका समाचार बारम्बार आईरहेको र यसलाई चौतर्फी प्रयासबाट मात्र नियन्त्रण गर्न सम्भव रहेको बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख तोय प्रसाद शर्माले भारतीय सिमासंग जोडिएको वडानम्बर ६ मा मानव बेचविखन तथा
ओसारपसार कार्यमा न्यूनीकरण गर्दै पूर्ण रुपमा बन्देज गर्न यस्तो कार्यक्रम लाभदायक हुने तथा यस्तो कार्यक्रम गरिसकेपछि सकारात्मक परिणाम आउनुपर्ने बताउनुभयो ।
यस्ता कार्यक्रमले मानव बेचविखन तथा ओसारपसार गरेमा आउनसक्ने सम्भावित कानूनी सजायँ तथा प्रक्रियाको बारेमा बुझाउन मद्दत पुग्ने आफुले आशा राखेको बताउनुभयो ।
सभाध्यक्षको आसनवाट बोल्दै वडाध्यक्ष मित्रसिंह लामाले आफ्नो वडामा रहेको दुइवटा विओपी र ईप्रका त्रिभुवन बस्तीले विगतमा यस्ता क्रियाकलापमा संलग्नहरुलाई समातेर कार्वाही गरेको बताउनुभयो । सचेतना कार्यक्रमले मानव बेचविखन तथा ओसारपसार कार्यमा न्यूनीकरण हुने विचार व्यक्त गर्नुभयो ।
दुई दिन सम्म चल्ने सचेतना कार्यक्रमलाई प्रशिक्षक प्रकाशचन्द्र मडै र सुरक्षा निकायका प्रतिनिधिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
उदघाटन सत्रलाई पुनर्वास नगरपालिकाका कर्मचारी ओमनाथ ढकालले सञ्चालन गर्नुभएको थियोे ।



Comments are closed.