कार्यवाहक मेयर भुलियाकुमारी रानाको निर्णय,पुनर्वासलाई प्लास्टिकमुक्त नगर बनाईने
-लालबहादुर एस.के.
कञ्चनपुर, ३२ साउन ।
पुनर्वासकि कार्यवाहक मेयर भुलियाकुमारी रानाले पुनर्वास नगरपालिकालाई प्लास्टिकमुक्त नगर बनाउने निर्णय गर्नुभएको छ । विहिबार कार्यवाहक मेयर रानाको अध्यक्षतामा बसेको बैठकले नगरलाई प्लास्टिकमुक्त नगर बनाउने निर्णय गरेको हो । प्लास्टिकमुक्त नगर बनाउन सुरक्षा निकायले भारतीय बजारबाट आउने प्लास्टिक झोला आउन नदिने, प्लास्टिक झोला बन्द गर्न उद्योग वाणिज्य संघले निर्णय गर्ने र सबै बजार समितिहरुलाई बन्द गर्न निर्णय गर्न लगाउने, नगरपालिकाले हरेक वडा र
विद्यालय तथा बजार क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्ने, होर्डिङ बोर्ड तथा सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने गराउने निर्णय समेत गरिएको छ ।
त्यसैगरी बैठकले नगरपालिका क्षेत्रमा भएको सशस्त्र प्रहरीका बोर्डर आउट पोष्टहरुले भारतीय सिमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुका विवरण सहितको लगत दैनिक रुपमा राख्ने तथा सोका लागि पालिकाले लगत रजिष्टर उपलब्ध गराउने निर्णय गरेको छ । यसका साथै खुला सिमानाकाबाट आउने अवैध सामानका कारण नेपाली बजारलाई परेको नराम्रो प्रभावलाई न्यूनीकरण गर्न सिमानाकामा कडाई गर्ने, उपभोक्ता
सचेतनाका लागि बिओपीको ड्युटी पोष्ट नजिक पालिकाले होर्डिङ बोर्ड राख्ने, अखाद्य वस्तु न्यूनीकरणका लागी सामाजिक अभियन्ता र धर्मगुरुहरुसंग समन्वयात्मक बैठक बस्ने समेत निर्णय गरेको छ ।
बैठकमा वडानम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापा, वडानम्बर ४ का वडाध्यक्ष मनोज जैसी, सशस्त्र प्रहरी आँपताल बिओपीबाट नरेन्द्रसिंह बोहरा तथा प्रिन्स कुमार चन्द, बिओपी दोदा प्रमुख जगन्नाथ जोशी,कंकड
बिओपीबाट नरेन्द्रसिंह चैसीर,बिओपी बिचफाँटाबाट डिलाराम फुल्जेल, खाद्य अधिकार सञ्जालका संयोजक कञ्चन गीरी, पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी लगायतका व्यक्तिहरुको उपस्थिति थियोे ।



Comments are closed.