विजय माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री थापाद्वारा विकासको प्रतिबद्धता

लाल बहादुर एस.के.
पुनर्वास, माघ १९
पुनर्वास नगरपालिका-१०, भिम विकास बस्तीस्थित श्री विजय माध्यमिक विद्यालयले आफ्नो शुक्रबार ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विद्यालयको खेलकुद, शैक्षिक भवन, खानेपानी, शौचालय लगायतका भौतिक पूर्वाधार सुधारका लागि आफ्नो निरन्तर पहल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप सिक्न प्रेरित गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन धामीले विद्यालय सुधारका क्रममा भएका प्रगतिहरूबारे जानकारी गराउँदै नियमित हाजिरी प्रणाली, शिक्षक-अभिभावक अन्तरक्रिया, कम्प्युटर कक्षा सञ्चालन, विद्यालय भवन मर्मत तथा जीर्ण झ्यालढोका पुनर्निर्माणजस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो। साथै, २०८२ शैक्षिक सत्रदेखि व्यवस्थापन (कमर्स) संकाय सञ्चालन गरिने घोषणा गर्दै भविष्यमा थप शैक्षिक सुधारका योजनाहरू अघि सार्नुभयो ।
मन्त्री थापालाई विभिन्न विद्यालयको चौतर्फी विकासका लागि ज्ञापनपत्रसमेत बुझाइएको छ। विद्यालयका भूपू विद्यार्थी समाज तथा सहयोगी समूहको पहलमा विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष धामीले शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विस्तारका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। आकर्षक नृत्य, गीत तथा नाटकहरूले कार्यक्रममा विशेष रौनक थपेका थिए।
प्रमुख अतिथि थापाले सामुदायिक विद्यालयमा आधुनिक गीतहरू प्रस्तुत गर्नुभन्दा मौलिक संस्कृति झल्कने र आफ्नै सिर्जना भएका गीत-नाटकहरूमार्फत कला तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
Comments are closed.