छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु
कञ्चनपुर/२९ असार
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ (आउजी) को सर्पको टोकाइबाट मृत्यु भएको छ।
महिनावारीको समयमा घरको आँगनमा बनाइएको छाउगोठमा सुतिरहेकी कमलालाई गएराति राति करिब १२ बजे सर्पले टोकेको थियो। परिवारजनले तत्कालै उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए। तर, उपचारका क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो।
कमलाका तीन जना स–साना बालबालिका रहेका छन् भने श्रीमान् वैदेशिक रोजगारीका लागि भारतमा हुनुहुन्छ।
स्थानीयका अनुसार, पक्की घर भए पनि महिनावारी भएका बेला कमला सधैं घर बाहिरको गोठमै सुत्ने गर्नुहुन्थ्यो। उहाँ दुई महिना अघि मात्रै भारतबाट फर्किनुभएको थियो।
महिलालाई छाउपडी प्रथाको नाममा असुरक्षित र अमानवीय अवस्थामै बस्न बाध्य बनाउनु दुःखद् भएको भन्दै महिला अधिकारकर्मीहरूले यस्ता कुरीति अन्त्य गर्न सम्बन्धित निकायले तत्काल कडा कदम चाल्नुपर्ने माग गरेका छन्।
स्मरण रहोस्, मुलुकी अपराध संहिता २०७४ अनुसार रजस्वला वा सुत्केरी महिलालाई छाउगोठमा राखेमा तीन महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।




Comments are closed.